कित्तैकित्तामा विभाजित समाज

 

कलम चालक सुमनको आलेख


आजको मानिसको इतिहास हामी सजिलैसँग पहिल्याउन सक्छौं ।उहिलेका मानिसको इतिहासबारे हामी अनुमानका भरमा मात्र धारणा बनाउछौं । किनभने त्यतिबेला एउटा युग मात्र निर्माण भएको थियो । आजको जस्तो नवीनतम प्रविधिको त्यतिबेलाका मानिसहरुले कल्पना पनि गर्न सक्दैनथे । मानव इतिहास र यसको उत्पत्ति कुरा गर्ने हो भने हामीले अफ्रिका महादेशलाई सम्झन्छौं । त्यतिबेला उनीहरूको संवाद कसरी हुन्थ्यो होला ? यो प्रश्नले म आफूलाई पनि बेलाबेला उद्वेलित बनाइरहन्छ । मानवीय संवेदना हाँसो, खुसी कसरी व्यक्त गर्थेहोला ? यो प्रश्नले म आफूलाई बेलाबेला सोच्न बाध्य बनाउँछ । किनकि यी प्रश्नहरु बारे अहिलेसम्म सुनेका सबै उत्तर काल्पनिक हुन् । त्यसैले यो काल्पनिक कुरालाई वास्तविक मान्न यो मनले मान्दैन ।


'सुरुका दिनहरुमा मानवजाति जंगलमा बस्दथे' भनेर सुनिन्छ । हाम्रो नेपालका राउटे समुदाय अहिले पनि तपाईं हाम्रो जस्तो जीवनमा नफर्केको स्थिति छ । राउटे समुदायले आजको युगमा पनि किन जंगल नछाडेको होला ? यो प्रश्न चाहिँ 'आजको प्रश्न' हो । तर यसको पनि ठ्याक्कै उत्तर छैन । अथवा भनौं मिश्रित छ । तपाईं पाठको लाग्न सक्छ यो मान्छेले एउटा विषय राखेर अर्कै वस्तु समेटेको होला ? यस्तै केही ठानिरहनुभएको होला ।


किनकि हामीले इतिहासलाई राम्रोसँग बुझ्न सकेनौं भने वर्तमानलाई बुझ्न सक्दैनौं र भविष्यको गोरेटो कोर्न गाह्रो पर्दछ । तपाईं हामीले हिजोको जस्तै परिस्थिति अनुसार जिन्दगी कहाँ हुनु परेको छ र ? आजको हाम्रो जीवन त योजना अनुसार पो चल्छ त ! बिहे कहिले गर्ने ? यसको पनि योजना छ । बच्चा कहिले जन्माउने ? यसको पनि योजना छ । कुनै महिला सुत्केरी हुँदा के खुवाउने ? के मा प्रोटिनको मात्रा बढी छ ? कुन फलमा के भिटामिन पाइन्छ ? हरेक कुराको आ-आफ्नै फेहरिस्त छ । लगाउने कुरामा त हामी झन् बढी सतर्क छौं । यहाँ निर मैले योजनाअनुसारका जति पनि कुरा गरें यी सबैजसो कुरा आजका मानिसका साझा दैनिकी जस्तै हुन् । अपवाद छाडेर ।


मान्छेका दैनिकीमा समानता छ । तर पनि मलाई धेरै कुरामा आजको युगमा पनि असमानता कायमै छ जस्तो लाग्छ । आज यस बखत मैले यो लेखिरहँदा हामी धेरै खाले विकासको चरम बिन्दुमा छौं । तपाईसँग फोन छ । यसमा फेसबुक, ट्विटर र इन्स्टाग्राम जस्ता विभिन्न सञ्जाल छन् । तपाई पनि के कम ? अडिएर त्यसैमा झुण्डिइरहनुभएको छ । अरु आफ्ना दायित्वलाई 'बालै फरर' भनेर यही सञ्जालले संसारमा झुम्नुको मजा कति हो कति ! आफ्ना वरिपरि के घटिरहेको छ ? यसलाई पनि 'बालै फरर' गरेर तपाईँ अरुका  वरिपरि के घटिरहेको छ ? त्यो जान्ने तीव्र चाहना राख्नुहुन्छ ।


कहिलेकाहीँ सोच्नुहुन्छ ? 'म पनि त एक सामाजिक प्राणी हो' भन्ने कुरा ? मलाई लाग्छ, कमैले मात्रै यस्तो सोच्नुहुन्छ । खासमा यसरी सोच्नुपर्ने धेरैले हो । खासगरी हामी युवा पुस्ता यस्ता कुरामा विशेष योजनाका साथ अगाडि आउनुपर्ने हो । आज पनि हाम्रो समाजमा छुवाछूत छ, अनेक किसिमका कुप्रथा छन्, जातीय भेदभाव उस्तै छ,  राजनीतिक रुपमा कित्ताकाट खेलिरहेका छन् । अरु त के कुरा ? छरिएर रहेका संस्था र समूहमा पनि सबैको अलग अलग गुट-उपगुट छ ।


हामी हिजो जातीय रुपमा विभाजित थियौं, आज त झन् हेर्नुस् त ! राजनीतिक आर्थिक र सामाजिक रुपमा पनि विभक्त छौं । 'एकतामा बल हुन्छ' भन्ने हाम्रो समाज यसलाई सिद्धान्तमा मात्रै सीमित गराउन पुग्यो । हाम्रो आलोचनात्मक चेत आलोचना नभएर आरोप-प्रत्यारोप जस्तै भएको छ । एउटा कुनै मुद्दामा चित्त नबुझे आजीवन त्यस्ता मानिससँग निषेधको राजनीति गर्छौं । के यही हो त, सभ्य समाजको चिनारी ? एक्काइसौं शताब्दीको परिवर्तन ? आज यस प्रश्नमाथि हामी सबैले विचार विवेचना गर्नु पर्ने आवश्यकता छ । 


मलाई भन्न पनि लाज लाग्छ, 'छुवाछुत प्रथा अझै पनि कायमै छ, बोक्सी प्रथा अझै पनि कायमै छ र राजनीति गतिरोधले जरा गाडेकै छ ।' एउटा मानिस हुनुका नाताले हामी अब कथित परिवर्तनवादी बनेर होइन, व्यवहारमै परिवर्तन ल्याउनउन जरुरी छ। आधुनिकताका नाममा विकृति, कुकृति र सुसंस्कृत हुनु कुनैपनि पक्षबाट राम्रो मान्न सकिँदैन । हामीले तीव्र आबेग र दृढ विश्वास साथै उत्पादनमूलक सोच्न जरुरी छ तर दुःखका साथ भन्नुपर्छ त्यतापट्टि ध्यान दिनेको संख्या नगण्य छ ।


Post a Comment

0 Comments