मौनता मेरो नजिकको साथी

 

अनुभूति

अभिव्यक्तिका विभिन्न शैलीहरु हुन्छन् । कसैले बोलेर आफ्नो रायलाई अभिव्यक्त गरेका हुन्छन् । कसैले लेखेर आफूलाईव्यक्त गर्दछन् । यदि कसैलाई शारीरिक रुपमा बोल्नसक्ने क्षमता छैन भने उनीहरुले इशाराको माध्यमबाट आफूलाईअभिव्यक्त गर्नुपर्ने हुन्छ । यी त भए अभिव्यक्तिका अनेक माध्यम ।   


यदि कोहि शारीरिक रुपमा बोल्नका लागि सक्षम छ भने ऊ शब्द र संगीतबाट नभएर कुराकानी बाटै आफूलाई अभिव्यक्त गरोस् भन्ने चाहना राख्छौं । धाराप्रवाह  बोल्न आउनेहरुलाई छ कुनै समस्या भएन तर यसरी बोल्दा पटक-पटक रोकिएर आफ्ना भनाइ राख्न पर्यो भने के त्यसरी आफ्ना कमीकमजोरीलाई कोही मानिस देखाउने चाहना राख्छ त ? पक्कै राख्दैन । उसले अभिव्यक्तिका  अरु माध्यम रोज्न सक्छ । केही मानिसहरु अरुलाई आकर्षण गर्नका लागि गीतसंगीतको प्रयोग  गर्दछन् । कसैले काव्यिक रुपमा पत्रमार्फत् शायरी, गजल, मुक्तक र कविताका माध्यमबाट अरुको मनमा स्थान लिन प्रयास गर्दछन् । तर पछिल्ला दुई अभिव्यक्तिका माध्यम प्रयोग गर्ने मानिस तुलनात्मकरुपमा बोलेर अभिव्यक्ति देखाउनेको संख्यालाई  हेर्ने हो भने निकै कम छन् । तर 'यी माध्यममात्र अभिव्यक्तिका सम्पूर्ण माध्यम भने हुन सक्दैनन्' भन्ने मेरो आफ्नो मान्यता हो । महान ऋषिमुनी, गुरु र चिन्तकहरुले अभिव्यक्तिको  सबैभन्दा सशक्त माध्यम ‘मौनता हो’ भनेर भनेका छन् ।

तपाईंहरुलाई लाग्न सक्छ, केही मौनतामा सम्पूर्ण प्रश्नहरु सशक्त उत्तर हुनसक्छ ? यसका लागि मान्छेका दुईवटा  स्वभाव अन्तरमुखी र बहिर्मुखी बारे जान्न जरुरी छ । अन्तर्मुखी स्वभावको भन्नाले साधारण मान्छे भन्दा फरक किसिमले थोरै  शब्दहरुमा आफूलाई व्यक्त गर्ने शैली बुझ्नुपर्दछ । बहिर्मुखी भन्नाले आफ्ना मानवीय संवेदनाका सम्पुर्ण व्यक्तिलाई सहजसँग खुलस्त रुपमा प्रदर्शन गर्ने व्यक्तिलाई बुझ्नुपर्दछ ।

साधारणतया मौनतामा आफूलाई अभिव्यक्त गर्ने व्यक्ति, अन्तर्मुखी व्यक्ति हुन् । जसरी कुनै प्रश्नको जवाफ हो वा होइन मा हुँदैन, त्यसरी अभिव्यक्ति पनि बोलेर वा लेखेर मात्रै हुँदैन । त्यहाँ मैले माथि उल्लेख गरेजस्तै संगीत मार्फत् गरिने अभिव्यक्ति  हुनसक्छ । अभिव्यक्तिलाई केही मानिसहरु दोहोर्याएर-तेहर्याएर भन्ने गर्दछन् । एउटै प्रसङ्ग एउटै व्यक्तिसँग यसरी पटकपटक व्यक्त गर्नु त्यति उचित हुँदैन होला भन्ने मेरो आफ्नो  मान्यता छ । यसरी एउटै कुरा दोहोर्‍याइरहँदा छेउमा भएको अर्को व्यक्तिलाई दिक्दारी लाग्न सक्छ । त्यसैले हामीले यतातिर पनि ध्यान दिन जरुरी छ । 

अभिव्यक्ति मानिसका स्वभावजन्य विशेषता हुन् । यसलाई हामी सबैले बुझेकै छौं । लेखकहरू आफूलाई व्यक्त गर्नु पर्यो  भने  मर्नुपर्यो जस्तै  ठान्छन् । त्यस्तै आवाज सशक्त भएका मान्छेमा  लेखनीय  गुण त्यति बलियो हुँदैन । राम्रो गायकलाई जति सहज तरिकाले गित  गाउन आउँछ, त्यसै मात्रामा बोल्न र लेख्न आउँदैन । आफूलाई मौन राख्न सक्नु पनि आफैंमा एउटा जटिल काम हो । हरकोही मानिस मौन बसिरहन कहाँ सक्छ र ? यो गुण कमै मान्छेमा मात्र हुन्छ । यसो भनिरहँदा म आफूलाई ‘’अपवाद  हुँ’ भन्न खोजिरहेको भने पटक्कै  होइन । कहिलेकाहीँ बोल्दा-बोल्दा बोल्न बाँकी केही नरहेपछि मानिसहरु  मौन बस्छन् । म त्यही वर्गको मानिस  हुँ । मलाई बोल्न मन लागेन भने मौन  बसिदिन्छु । यस्तो स्वभावका मानिसहरुलाई समाजले ‘घमण्डी’ शब्दको ट्याग लगाइदिइन्छ । आलोचना गर्ने कुरा हो, तपाईं सबैलाई आलोचना गर्ने छुट छ । यति भनिसकेपछि भन्न बाँकी अरु के नै रहयो र ? 


Post a Comment

0 Comments