नयाँ वर्षमा नयाँ पुराना कुरा

 

अनुभूति

बाल्यकाल मेरो गाँउमै बित्यो । अर्घाखाँचीको सदरमुकामबाट निकै पछाडि विकट गाँउमा । लगभग ११ वर्ष बाख्रा चराउँदैमा गएको पत्तै भएन । पढाइमा म अब्बलनै थिएँ । हरेक प्रतिस्पर्धामा म आफूलाई अरुभन्दा अगाडि नै पाउँथे । तर यो कुरामा मलाई कुनै घमण्ड थिएन । सफलताले मानिसलाई सरल बनाउनुपर्छ । उन्मादले मानिसलाई पाखण्ड बनाउँछ । यस कुरामा म अहिले पनि सचेत छु । अहिले आएर कक्षा एकमा फेल हुँदा धरधरी रोएको कुरा सम्झिँदा हिजोजस्तै लाग्छ । त्यसताका अत्यन्तै दुब्लो, पातलो, बत्तिँदै-झर्किँदै हिँड्ने म अहिले पनि खासै मोटाएको भने चाहिँ छैन । मोटोपन सबैको समस्या बनिरहेको वर्तमान परिप्रेक्ष्यमा मलाई त्यतातिर जानुपनि मन चाहिँ छैन । खैर, कुरा बाल्यकालतिरै लिजाऊँ । असफलताले मलाई जिन्दगीमा धेरैकुराको पाठ सिकाएको छ जस्तो लाग्छ । जबजब म आफूलाई असफल देख्छु, भक्कानिएर रुन्छु  र अब आइन्दा त्यस्तो गल्ती नदहोर्याउने कसम खान्छु । यो मेरो स्वभावजन्य विशेषता हो । अलिअस्ति पनि म एकलट मज्जैले रोएँ । खै किन रोएँ ? त्यो कुरा यहाँ उल्लेख गर्न चाहन्‍न । जतिबेला म बाख्रा गोठालो थिएँ, हातमा किताब कहिल्यै  छुट्थेन । म बाहिर हेर्दा जति कडा देखिन्छु, भित्र त्यतिनै नरम पनि छु जस्तो लाग्छ । त्यसमा ती किताबको निकै नै ठूलो भूमिका रहेको अनुभूति हुन्छ ।

कला, साहित्य, भाषा र वरिपरिको परिवेशका बारेमा धेरै रुचि राख्छु । 'यी कुराले खासै केही गर्दैनन्' भन्‍ने एउटा जमात छ । तर म यस्तै कुराले नै हामीलाई जोडेको छ भनेर वकालत गर्ने गरेको छु । हामी के खान्छौं, कस्तो घरमा बस्छौं, कस्तो गाडी चढ्छौं वा कस्तो लुगा लगाउँछौं त्यो प्रमुख कुरा होइन । हामीले कस्तो सोंच्छौं त ? त्यो चाहिँ प्रमुख विषय हो भन्ने मेरो ठम्याइ छ । यसो लेख्दै गर्दा राम्रो खाना, राम्रो घर, राम्रो गाडी वा सफा लुगालाई मैले वेवास्था गरेको भने चाहिँ पक्कै हैन । मैले यति मात्रै भन्न खोजेको हुँ कि, यी प्राथमिक कुरा होइनन्, सोंच पछिका कुरा हुन् । जसरी पनि सोंच प्रमुख कुरा हो भनेर सन्देश मात्र दिन खोजेको हुँ ।

म उदारात्मक कला (Liberal Arts) को अभ्यासलाई आत्मसाथ गर्छु । बौद्धमार्गी सोंचमा विश्‍वास गर्ने गर्छु । मेरो कुनैपनि चिजमा आकर्षण छ भने त्यो ‘गु्‍म्बा’ हो । जहाँ म आफूलाई एउटा अलगधारको महसुस गर्छु । राजनीतिमा नजिकबाट हेर्ने बानी भएकाले जनकल्याण (Public Welfare) को पाटोलाई पनि गम्भीरताका साथ नियाल्छु । त्यसैले बेलाबेला कतै प्रचार नगरी सुटुक्क रक्तदान गर्न कहिले पुल्चोक त कहिले सोल्टिमोड पुग्छु । अत्यन्तै दुर्लभ (Rare) मध्ये पर्ने ओ-नेगेटिभ (O-ve) रक्तसमुदाय भएकोले पनि मलाई यसो गर्न मनैदेखिको रहर र परिस्थितिजन्य बाध्यता पनि छ ।  मैले गर्ने काममा शतप्रतिशत दिन हरसम्भव प्रयास गर्छु । मेरो परिवार, मैले काम गर्ने ठाँउ, मैले संगत गर्ने साथीहरु र नातेदारहरुलाई मैले एउटै दर्जा दिने गरेको छु । यी सबैको आ-आफ्नो ठाँउमा आफ्नै किसिमको महत्त्व छ । जहाँ काम गरिन्छ, त्यहाँ आफ्नो उच्‍चतम योग्यता (Best) र क्रियाशीलता प्रस्तुत गर्नुपर्छ र मात्रै आदर्शवान् व्यक्ति बन्‍न सकिन्छ भन्ने मेरो आफ्नो सिद्धान्त हो ।

अब धेरै कुरा नलेखि सिधैं लेखको शीर्षक तिर लाग्‍न चाहन्छु । हामीले प्रजातन्त्र प्राप्तिको ७१ वर्ष पछाडि पनि सोंचे अनुसारको फड्को मार्न सकेका छैनौं भन्ने मेरो आफ्‍नो विश्‍लेषण छ । आज मैले यहाँ उठान गर्न खोजेको विषय के हो त भन्‍दा हामी ‘काम कम कुरा बढी’ गरिरहेका छौं । हुनुपर्ने चाहिँ ठीक उल्टो थियो, ‘काम बढी र कुरा कम ।’ यहाँ निर मैले के कुरालाई प्राथमिकतामा राखेको देखेको छु त भन्दा हामी कुरौटे मानसिकतामा एक किसिमको मज्‍जा लिएर बसेका छौं । विहान उठ्दा क्रान्ति गर्न खोज्‍नेले साँझ काम सकिँदा त्यो क्रान्तिको भोकलाई कत्तिको सही रुप दिन सक्यो त ? प्रमुख कुरा यो हो । अरुका गल्तिलाई औंलामा भाँच्दै गर्दा आफ्ना गल्तीबारे हामी कत्तिको सचेत छौं त ? यो आफैले आफैलाई गर्नुपर्ने प्रश्‍न हो, खासमा । हरेक समाजले, हरेक कार्यालयले आफ्नो ‍औकात अनुसारको नेतृत्व पाउँछ । यदि हामी साच्चिकै कामलाई तीव्रताका साथ गर्न चाहन्छौं भने त्यहाँ सबैपक्षको भूमिका उत्तिकै चुस्तदुस्त हुन‍ जरुरी छ । हामीले अरुबाट जे कुराको अपेक्षा गर्छौं त्यसो गर्दै गर्दा हामीमा के कुराको हेक्का हुन जरुरी छ भने म बाट पनि त्यो पक्षका लागि पूरा गर्नुपर्ने जिम्मेवारी उत्तिकै छन् । यत्ति कुरामा ख्याल गर्ने बित्तिकै सारा समस्याको समाधान निस्किसक्छ । 

मैले माथिपनि उल्लेख गरेको छु कि, म (Liberal Arts) को स्वअध्ययनशील विद्यार्थी हो । यसले के भन्छ भने, समाज कुनै एक व्यक्तिले बनाउन सक्दैन । सोंच एक व्यक्त्तिको हुन सक्‍छ तर त्यो सोंचको कार्यान्वयनका लागि सर्वपक्षीय भूमिका उत्तिकै हुने गर्दछ । अनि मात्र हामीले राम्रो परिणाम (Result) निकाल्न सक्छौं । जमाना प्रविधिमय भैसकेको यो युगमा हामी सामूहिक निगरानी (Mass Surveillance) मा बाँचिरहेका छौं । हामीले के ठान्‍नुहुन्‍न भने 'मलाई कसैले देखेको छैन, मैले जे गरेपनि छुट छ, जे भनेपनि छुट छ ।' आजको युगमा यस्तो सोंचेर आफूलाई गलत बाटोमा नलैजान म यो लेख पढ्ने सबैलाई हार्दिकतापूर्वक अनुरोध गर्दछु । सोंचको कुरा गर्दै गर्दा हामीले हरेक कुरालाई अलग्याएर भन्दा पनि जोडेर हेर्न जरुरी छ भन्‍ने लाग्दछ । हाम्रो अध्ययनको अभिमुखीकरण (Orientation) Selective भन्दा पनि ‍Collective हुनुपर्दछ । कामको विषयमा पनि एकल प्रयासले मात्र राम्रो परिणाम निकाल्न गाह्रो हुन्छ । यस सवालमा पनि सामूहिकता नै अपरिहार्य छ । 

बाहिरबाट हेर्दा हामी प्राय: फगत देखावटी गरिरहेका हुन्छौं । अर्काका आवश्यकता पूरा गर्न खोजेको जस्तो । तर के साच्‍चै हामी समस्यालाई समस्या जसरी हेरिरहेका छौं त ? बाहिरको त म भन्‍न सक्दैन तर नेपालको हकमा ९५ प्रतिशत मानिस हरेक काममा आफ्नो अनुभवले भ्याएसम्म भन्दा पनि औपचारिकता निभाउने काम मात्र गरिरहेका हुन्छन् । हामीमा विनम्रता, शिष्टता र शालीनता साथै नवीनता भन्‍ने कुरा औषत भन्दा ज्यादै कम छ । जसका कारण हामी चाहेजति फड्को मार्न सकिरहेका छैनौं । प्रगति गर्न सकेका छैनौं । 

लेख्दै जाँदा म जे लेखिरहेको छु, त्यसमा झट्ट पढ्दा ‘यो मान्छे त कति अरुलाई दोष दिन जानेको’ भन्‍ने भान हुन सक्ला तर सत्यता लुकाएर भ्रमका कुरा गर्न मलाई मेरो नैतिकताले दिंदैन । हामी चाहे हाकिम हौं वा कामदार, मिठो बोल्न जानेकै हुँदैनौं । हाकिमहरुमा हुनुपर्ने विशेषता कर्मचारीलाई काम लगाउनु मात्र हुँदै होइन । हाकिमले त कर्मचारीलाई सम्मान पनि दिन जान्‍नुपर्छ जस्तो लाग्छ । ठीक यही कुरा कर्मचारीमा पनि लागू हुन्छ । कामलाई होस् वा व्यक्तिलाई इज्‍जत दिन जानिएन भने इज्‍जत पाउने अपेक्षा पनि नराख्दा राम्रो होला । सम्मान कहिल्यै मागेर पाउने कुरा पनि होइन, त्यो त आर्जन गर्नुपर्छ । 

अन्त्यमा, मैले माथि उल्लेख गरेका कुरा कस्तो लाग्यो ? पढेर प्रतिक्रिया दिनुहुनेछ भन्‍ने मेरो अपेक्षा छ । जाँदाजाँदै नयाँ वर्ष २०७९ सालको मेरा सम्पूर्ण पाठकहरुमा हार्दिक शुभकामना भन्दै आवेग भन्दा विवेक र उत्तेजना भन्दा बढि सचेतना अपनाउन सल्लाह दिँदै अर्को लेखमा छिट्टै हाजिर हुने वाचाका साथ यो लेखलाई यहीँ अन्त्य गर्दछु । धन्यवाद ।



 


Post a Comment

0 Comments