अनुभूति |
साँझको सात बज्नै लाग्दा मोबाइलमा घण्टी बज्यो । स्क्रीनमा आखाँ गयो । ‘मदन भाइ’ नामबाट फोन आएको रहेछ । फोन उठाएँ । सबैकुरा बुझ्दा भाइको आमा अर्थात् मेरो साइँली ठूलिआमाको वीर अस्पतालमा न्युरो सर्जरी सम्बन्धी अप्रेसन हुँदै रहेछ । डाक्टरका अनुसार जतिबेला पनि रगत चाहिन सक्छ भन्ने सुनेपछि मदन भाइले मलाई फोन गरेका रैछन् । साँझको खाना खानै लाग्दा भाइले डाक्टरले भनेअनुसार ‘ओ नेगेटिभ व्लड ग्रुपको ब्लड मिल्ने तपाईं हुनुहुन्छ दाइ, आउन भ्याउनुहुन्छ ?’ भनेर सोधेपछि म आउने जानकारी गराएर कोठाबाट वीर अस्पताल तिर लागेँ । बाइक राइड सेयरिङ कम्पनी पठाओको मोबाइल एपमा ‘वीर अस्पताल सम्मको पुग्ने’ भनेर लोकेशन छानेर रिक्वेस्ट पठाएँ । तुरुन्तै फोन आयो । ‘महाराजगञ्ज स्थित नेपाल एस.वी.आई बैंक अगाडि छु, सर कता हुनुहुन्छ होला ?’ भनेर राइडरले सोधे । मैले ‘म यहीँ धारापटी छु, दुई मिनेटमा आएँ’ भनेर उनलाई म त्यहीँ आउने निधो दिएँ । आफूलाई तयार पारिसकेपछि म सरसर महाराजगञ्ज गएँ ।
राइडरसंग भेट भयो । उनी रैछन् निकै नै फरासिला । म पनि जिज्ञासु स्वभावको मानिस । नभन्दै हामी दुबैको तालमेल मिल्यो । उनी बैह्रमुखी स्वभावका रैछन्, मलाई कुरा गर्न त्यति अप्ठ्यारो परेन । कुराकानीको क्रममा सुर्खेत आफ्नो घर बताउने उनले बाटोभरी आफ्ना पारिवारिक कुरा गरेर मलाई एक्लो महसुस गर्नबाट बँचाइरहेका थिए । त्यससंगै आफू कसैसंग व्यक्तिन पाउँदा उनमा पनि बेग्लै किसिमको जोस आएको प्रस्ट महसुस गर्न सकिन्थ्यो । लकडाउन हुन भन्दा एक महिना अगाडि सुर्खेतमै होटल व्यवसाय सञ्चालन गरेका उनलाई लकडाउनले नराम्ररी च्यापेको रहेछ । ठीक यही कुरा म मा पनि लागू हुन्छ । त्यत्रो उत्साह र अपेक्षाका साथ खोलेको व्यवसायलाई कोरोना महामारीले ठप्प पारेपछि विदेश जाने सपना पालेर सुर्खेतबाट काठमाण्डौ आएका रैछन् । वैदेशिक रोजगारीका लागि सबै प्रक्रिया लम्बिने लागेपछि उनी ‘यतै केही गर्नपर्छ’ भन्ने अठोटका साथ सुर्खेतबाट ल्याएको मोटरसाइकललाई पठाओसंग जोडेर यतै केही गर्ने योजना बनाएका उनले सोही अनुसारनै पठाओ राइडरको आधिकारिकता लिएका रैछन् । उनले भनेअनुसार हाल पूरापुर समय यही पेशामा दिएको र ‘पार्ट टाइम पनि यो सेवा लिन सकिन्छ’ भन्ने थाहा पाएपछि यस संगसंगै नयाँ बसपार्क क्षेत्रमा एउटा चियापसल चलाउने योजनामा रहेको पनि सुनाए ।
जब म युवामा यो किसिमको जोस जाँगर र उत्साह देख्छु, त्यसले आफू सिंचित र कम्पित दुबै हुन्छु । उनीसंग अझै धेरै कुरा गर्ने रहर थियो तर मेरो गन्तव्य स्थान आइसकेकाले त्यति कुरा गर्न पाइएन जति कुरा गरेर रहर मेटिन्थ्यो । अर्थात् भनौं, केही सोध्न बाँकी रहे केही भन्न बाँकी । यसैपनि सामान्य मानिसका कथा चाखलाग्दा हुन्छन् नै । उनीसंगको कुरामा कुनैप्रकारको बनावटी थिएन । उनी थिए नै त्यस्तै, आफूलाई गज्जबले अभिव्यक्त गर्ने । उनलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तान गरिसकेपछि मैले उनीसंग अझ धेरै तिमालिन नपाएकोमा आफूलाई निराश बनाएँ । उनीपनि ‘हाम्रो गन्तव्य स्थान छोटो भयो है सर ?’ भन्दै थिए । मैलेपनि ‘राति फर्किनुपर्ने भए म हजुरलाई सम्झिन्छु’ भनेर उनको मन राखिदिएँ । उनी भन्दै थिए, ‘रातीमा यात्रा शुल्क अलि बढी लाग्न सक्छ सर, यसलाई हजुरले स्वीकार्नुपर्ला ।’ मैले ‘हुन्छ, त्यसमा केही समस्या भएन’ भनेर उनलाई समर्थन गरेँ ।
वीर अस्पतालको तेस्रो तल्लामा रहेको न्युरोलोजिकल सर्जरी डिपार्टमेण्टमा पुगेपछि मैले ठूलिआमा र भाइ मदनलाई भेटेँ । अप्रेसन आजै राति गर्ने भन्ने डाक्टरको कुराकानी थियो । तर त्यो कुराकानी केहीबेरमै बदलियो । इमर्जेन्सीमा अर्को कुनै अप्रेसन गर्नुपर्ने भएका कारण त्यसदिन ठूलिआमाको अप्रेसन हुन सकेन । यो अप्रेसन संगै ठूलिआमाको तेस्रोपटक अप्रेसन हुँदै थियो । यसभन्दा अगाडिका दुईओटै अप्रेसन माइतिघर स्थित अन्नपूर्ण न्युरो अस्पतालमा भएको थियो । पहिलो अप्रेसन गर्दा त्यहाँका डाक्टरले गरेको सानो लापररवाहीका कारण दोस्रो अप्रेसन त्यहीँ गर्यौं । अप्रेसन गरेको घाउमा इन्फेक्सन देखिएपछि यसरी पटकपटक अप्रेसन गर्नुपर्ने वाध्यता आइलागेको हो ।
यो अविश्वासको कारण पनि हामी यसपटक उहाँलाई पुनः त्यही अस्पतालमा लगेर उपचार गर्न गर्ने दुश्प्रयास गरेनौं । त्यसदिन अप्रेसन हुन नसक्ने भएपछि म त्यहाँबाट आफ्नो कोठामा फर्किएँ । रातिको एघार बजेको हुँदो हो, पठाओ राइडर अस्पताल अगाडि मलाई कुरेर बसेका थिएँ । मदन भाइसंग भोलि आउने वाचाका साथ म कोठा फिर्ता भएँ । तर भोलिपनि तोकिएकै समयमा अप्रेसन हुन सकेन । केही गम्भीर प्रकृतिका विरामी भए अस्पतालले संवेदनशीलता हेरेर अप्रेसनका गतिविधि गर्ने रहेछ । भलै यसले हामीलाई ढिलाई भएको थियो तर यसो गर्नु म आफैलाई पनि राम्रो लाग्यो । किनकि जटिलता बुझ्नु आफैमा राम्रो कुरा हो ।
भोलिपल्ट म फेरि विहान १० बजेतिर अस्पताल पुगेको थिएँ तर हाम्रो पालो दिउँसो २ः४५ बजे मात्र आयो । केही बेरमा ‘कुसल भाइ’ मेरो कान्छी सानिमाको छोरा पनि आइपुगे । आफन्तहरुको फोन कहिले मेरो त कहिले मदन भाइको मोबाइलमा आइरहेको थियो । ‘के भयो ? कतिबेला अप्रेसन गर्छ ? उहाँलाई कस्तो छ ?’ उहाँहरु मध्ये सबैका यस्तै यस्तै प्रश्नहरु थिए । अन्ततः करिब साढे ४ बजे तिर उहाँलाई अप्रेसन थिएटरबाट बाहिर निकाल्यो । त्यसभन्दा अगाडि अप्रेसन मोर्चाका एकजना डाक्टरले ठूलिआमाको टाउकोमा इन्फेक्सन भएको हड्डीको सानो टुक्रालाई हामी कुरीरहेको ठाउँमा आएर देखाउनु भयो ।अस्पतालले देखाएको यो जवाफदेहिता हामीलाई मन परि त गयो । टाउकोमा भएको हड्डीको ठूलो भाग ईन्फेक्ड भएको रहेछ ।हड्डी निकालिएको खाली भागमा अबको केही समयपछि कृतिम हड्डीले भरिनेछ ।
अस्पतालको बसाइ ६ हप्ता लामो हुने भएको छ । यस बीचमा म एकदिन बिराएर रातिमा कुरुवा बस्न गइरहेको छु । सोंचिरहेको थिएँ,’ नयाँ ब्लग सुरु गरेको छु, हरेक दिन केही न केही लेखिरनेछु ।’ तर सोंचेको जस्तो सजिलो नहुने रैछ । यो मेरो एउटा योजना थियो । योजना र परिस्थितिका बीचमा चल्दै गर्दा हामीलाई प्रायजसो परिस्थितिले दबाउने रैछ । ब्लग लेख्नु मेरो निजी काम हो । यो नलेख्दा पनि केही बिग्रदैन । तर अस्पतालमा कुरुवा बस्नु मेरो दायित्व हो । यो दायित्वबाट विमुख हुन मलाई मन छैन । अब अस्पताल बसाइका बाँकी अनुभूतिलाई म ६ हप्ता पछि प्रस्तुत गर्नेछु । यस बीचमा कुनै न कुनै विषयमा नयाँ ब्लग आउने नै छन् ।
0 Comments