आलेख |
वि. सं. २०६४ सालतिरको कुरा हो, संविधानसभाको निर्वाचन गर्न त्यतिवेलाको सरकारले चैत्र २८ लाई मिति तोकेको थियो । त्यससंगै राजनीतिक दलहरुले आफ्ना चुनावी गतिविधिलाई अगाडि बढाउँदै थिए । निर्वाचनको मिति आउन धेरै दिन बाँकी थिएन । निर्वाचन भन्दा अगाडी नै ने.क.पा. माओवादीका अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ भित्ते राष्ट्रपति बन्न भ्याइसकेका थिए । उमेरले एघार वर्ष लाग्दै गरेको मलाई राजनीतिक चेत विस्तारै खुल्ने क्रममा थियो । त्यसताका म राष्ट्रिय जनमोर्चाको बाल संगठनमा आवद्ध थिएँ । हामीले त्यस संगठनमा रहेर पार्टीले दिएको दिशानिर्देशमा रहेर गाँउमा धेरैखालका राजनीतिक गतिविधि र विकासका काममा एक्वेवद्धता जनाएर काम गर्यौं । त्यतिबेला आफ्ना जनवर्गीय संगठनलाई सक्रीय बनाउन पार्टीले एकजना कार्यकर्तालाई गाँउमै खटाएको थियो । प्रथम संविधानसभाको निर्वाचनमा अर्घाखाँची जिल्लाबाट प्रत्यक्ष तर्फ ने.क.पा. माओवादीका तर्फबाट हालका उर्जामन्त्री टोप बहादुर रायमाझी र राष्ट्रिय जनमोर्चाका तर्फबाट हाल माओवादी केन्द्रका सदस्य रहेका डिलाराम आचार्य बीच कडा प्रतिस्पर्धा हुने लगभग निश्चित थियो ।
नभन्दै चुनावको मिति आयो । चुनावको केहीदिन भित्रै माओवादीका टोप बहादुर रायमाझी अत्याधिक मतान्तरले विजयी भए । छिमेकी जिल्ला प्युठानमा पनि राष्ट्रिय जनमोर्चाले थोरै मतान्तरले जिल्लाका दुबै क्षेत्रमा माओवादी संग हार्न पुग्यो । यो त भयो त्यतिबेलाको चुनावी नतिजा । अब कुरा गरौं त्यतिबेलाको चुनावी मुद्दाको विषयमा । त्यसताका मानिसमा राजनीतिक चेत उच्च भेसकेको थियो । राजनीतिक नेताको त झन् के कुरा ? आधारभूत विषय छोडेर ‘अबको २ वर्षमा नेपाललाई अमेरिका, स्विटजरल्याण्ड, सिङ्गापुर बनाइदिन्छु ।’ भनेर जनतालाई ढाँट्नुसम्म ढाँटे । त्यतिबेला जनता भर्खरै सकिएको जनयुद्धबाट शान्तितर्फ जान पाइन्छ र अब युद्ध सहन पर्दैन भनेर जनताले ने.क.पा. माओवादीलाई जनताले सरकारमा पुर्याए । जनताका अनेकआशाका बीचमा जंगलबाट राष्ट्रिय राजनीतिमा आएको पार्टीले सरकार त चलायो तर स्पष्ट वहुमत नभएका कारण सरकार धेरै समय सम्म टिक्न सकेन ।
त्यसपछि सुरु भयो सरकार ढाल्ने र बन्ने श्रृङ्खला । पहिलो संविधान सभाले संविधान दिन नसकेपछि दोस्रो संविधान सभाको निर्वाचन गर्न निर्वाचन आयोगले मिति तय गर्यो । २०७० मंङ्सिर ४ गते सम्पनन निर्वाचनमा १०५ सिट सहित नेपाली कांग्रेस पहिलो दल बन्यो तर दुई तिहाइ वहुमत आउन भने सकेन । नेपालले गणतन्त्र प्राप्ति पछाडि यसपटक पनि स्थायी सरकार पाउन सकेन । संयुक्त सरकार बन्यो । यसपटक पनि चुनावमा भाग लिने उम्मेद्वारले २०६४ सालको जस्तै झुटा आश्वासन लिएर जनताको घरदैलोमा मत माग्न पुगेका थिए । आधारभूत कुरा भन्दा एड्भान्स नारा लैजान माहिर हाम्रा नेताहरुले जमिनी हकिकत नबुझी चुनावी घोषणापत्र बनाए । फलस्वरुप जनता फेरि एकपटक ठगिन पर्यो ।
‘हामी जनताले पनि चेहरा हेर्न माहिर रहेछौं’ भन्ने कुरा एकपटक फेरि प्रमाणित भयो । सानासाना कुरामा परिवर्तन ल्याउँछौं भन्ने उम्मेद्वारले हार्नुपर्यो । ठूलाठूला कुरा गर्नेका पछाडि लाग्नाले हाम्रा मुद्दाहरु ओझेलमा परे । हामीलाई थाहा छ, हरेक कुराको सुरुवात पहिलो पाइलाबाट थालनी हुन्छ । तर हामी पहिलो नभएर सयौं पाइलाको कुरा गर्नेलाई नेता छान्न पुग्यौं । त्यतिबेला पनि जनताको हातमा ‘हात लाग्यो शुन्य’ भयो। मैले आजसम्मको सामाजिक संरचनामाथि गरेको इन्जिनियरिङमा के फेला पारेँ भने, हामी जनता, जनता बन्न सकेनौं । बन्यौं त केवल पार्टीका झोले कार्यकर्ता । सबै यस्तै छन् भन्ने होइन, तर धेरै यस्तै भएकाले देश पछाडि परेको हो । हामी व्यक्ति भन्दा पनि मुद्दा केन्द्रित हुने बेला आएको छ । आजको युगमा पनि यति कुरा बुझ्न नसक्नु आफैमा लज्जाको विषय हो । तर हाम्रो ध्यान त्यहाँ सम्म पुगेको छैन ।
पछिल्लो पटक बनेको नेकपाको सरकार पनि आफू आफू बीचको सत्ता लोलुपमा लागेर जति हुनुपर्ने थियो त्यति मुद्दातर्फ केन्द्रित भएको देख्न सकिएन । जनता आजित भएर यसपटक झण्डै दुईतिहाइको सरकार बनाउनका लागि मत पनि दिए । तर कम्युनिष्टहरुले त्यसको सदुपयोग गर्न सकेनन् । पूर्ण रुपमा असफल भए । हाल चलिरहेको धङ्धङीको सरकार आफैमा असुरक्षित सरकार छ । अब हेर्न बाँकी छ, सत्ताको कार्ड कसले खेल्ने हो ? राजनीतिक खिचातानीले कहिले कुन पार्टीलाई कहिले अर्कैलाई फाइदा र सुविधा त होला । तर के यसले जनताका आकांक्षालाई समेट्न सक्छ त ? पक्कै सक्दैन । त्यसैले अब हामी नागरिकले समय लिएर सोंच्ने समय आएको छ । केही व्यक्तिको लागि लड्ने भन्दा देश र जनताका हितका लागि लड्ने नेतृत्व आजको आवश्कता हो । त्यसैले हामीले अब मुलुकको मुद्दा बिर्सने र अस्थिरता चाहनेलाई सिंहदरबारको मुलगेट छिर्न दिनुहुन्न । नेताले पनि देश र जनताको लागि सोंचेर निर्णय लिने क्षमता अभिवृद्धि गर्नुपर्ने जरुरी छ । परिवर्तनका लागि लडेर मात्र हुन्न साच्चिकैको परिवर्तन व्यवहारमा ल्याउने गरिकन जनउत्तरदायी भएर काम गर्ने खाँचो छ ।
अन्त्यमा,
नेताज्यू!
चेहरा र भाषणले लोकका अगाडि उभिएर एकछिन उनीहरुलाई मख्ख पार्न सकिन्छ । तर राजनीतिक रोटी अलि
लामो समय सम्म सेक्न चाहनुहुन्छ
भने जनताका मुद्दामा गम्भिर हुनुस् ।
0 Comments